आज साउन १५ : खिर खाएर मनाइँदै परम्परागत ‘खिर दिवस’

काठमाडौँ, १५ साउन – आज साउन १५ देशभर परम्परागत रूपमा खिर खाएर खिर दिवस मनाइँदै छ। नेपाली समाजमा असार १५ मा दही–चिउरा र साउन १५ मा खिर खाने परम्परा प्राचीनकालदेखि चलिआएको मौलिक संस्कृतिका रूपमा रहेको छ।

वर्षायाममा तातो खिर स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका कारण साउन १५ मा खिर खाने चलन बसेको मानिन्छ। दूध, चामल, चिनी र विभिन्न मसला मिसाएर बनाइने खिरलाई संस्कृतमा पायस भनिन्छ। वैदिक परम्पराअनुसार पायसलाई सात्विक आहारमध्ये उत्कृष्ट मानिने भएकाले देवकार्य तथा पितृकार्यमा समेत यसको विशेष महत्व रहेको छ।

साउन महिनामा खेतीपातीको मुख्य काम सकिने, गाईभैँसीले प्रशस्त दूध दिने र इष्टमित्र तथा छोरीचेलीलाई घरमा बोलाएर खिर खुवाउने परम्पराले पनि यस दिनको महत्व बढाएको छ। भगवान् शिवको प्रिय महिना मानिने साउनमा दूधबाट बनेका परिकार चढाउने धार्मिक विश्वाससँग पनि खिर खाने चलन जोडिएको छ।

चामलका अतिरिक्त सावदाना, सेवई, मकै र गाजरबाट पनि खिर बनाउने प्रचलन छ। धार्मिक मान्यताअनुसार खिर सेवन गर्नुअघि देवतालाई अर्पण गर्ने परम्परा पनि रहिआएको छ। यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खिर दिवसका रूपमा मनाउँदै आएको छ। बोर्डका अनुसार यस वर्ष देशभर आठौँ खिर दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ।

Facebook Comments Box