पहिरो र बाढीले देशभरका प्रमुख राजमार्ग प्रभावित, केही सडक पूर्ण रूपमा बन्द

काठमाडौं, १५ साउन – लगातारको वर्षापछि आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे भएपछि पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात ठप्प भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डमा पनि त्रिशूली नदीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ मा महालक्ष्मी खोला नजिक पहिरो खसेपछि भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

कर्णाली प्रदेशमा जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानीखोलामा आएको बाढीले सडक कटान गरेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगंगा गाउँपालिका–२ मा आज बिहान पहिरो खस्दा उक्त सडक पनि बन्द भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकाय वा स्थानीय प्रहरीमार्फत सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

Facebook Comments Box