श्रमिकको न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४४३ हुनुपर्छ : जेटियुसिसीको माग

काठमाडौँ, २४ असार – संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रमिकका लागि न्यूनतम पारिश्रमिक मासिक ३० हजार ४४३ रुपैयाँ तोक्न माग गरेको छ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडाले हालको बजार मूल्य, मुद्रास्फीति र न्यूनतम जीवनस्तरलाई आधार मान्दै श्रमिक पारिश्रमिकमा तत्काल पुनरावलोकन आवश्यक रहेको बताए।

उनका अनुसार चार सदस्यीय परिवारको मासिक खर्च न्यूनतम ३० देखि ३५ हजार रुपैयाँसम्म पर्ने भएकाले वैज्ञानिक, तुलनात्मक र व्यवहारिक मूल्यांकनका आधारमा पारिश्रमिक तोकिनुपर्छ।

अध्यक्ष सिम्खडाले सरकारले हरेक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने संवैधानिक दायित्वलाई स्मरण गराउँदै त्रिपक्षीय वार्तामा श्रमिक पक्षको प्रस्तावलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० रुपैयाँ रहेको छ, जुन सन् २०८० मा निर्धारण गरिएको थियो।

केन्द्रले श्रमिकका हकहितका लागि १५ बुँदे मागपत्र पनि सार्वजनिक गरेको छ। तीमध्ये प्रमुख मागहरूमा श्रम ऐन तथा नियमावलीको संशोधन, सामाजिक सुरक्षा ऐनको पूर्ण कार्यान्वयन, श्रम निरीक्षण तथा श्रम ‘अडिट’ प्रणालीको प्रभावकारी कार्यान्वयन, कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षा समिति गठन, र श्रमसम्बन्धी समिति स्थापना छन्।

यदि ती मागहरू समयमै सम्बोधन भएनन् भने असार २६ गतेदेखि चरणबद्ध आन्दोलनमा जाने चेतावनी केन्द्रले दिएको छ। आन्दोलनको सुरुवात राजधानीसहित सातै प्रदेशमा प्रदर्शन तथा ज्ञापनपत्र पेस कार्यक्रमबाट हुनेछ। त्यसपछि औद्योगिक करिडोरमा ¥याली र सभाहरू गरिने जनाइएको छ।

त्यस्तै, ठेकेदारी प्रथामार्फत श्रमिक आपूर्ति गर्ने कानुनविपरीतको अभ्यास रोक्न र श्रम बजारको नियमनका लागि तत्काल त्रिपक्षीय संयन्त्र बनाइनुपर्ने माग पनि केन्द्रले राखेको छ।

सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा त्रिपक्षीय प्रतिनिधित्वको मर्म विपरीत गरिएको मनोनयन सच्याउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

Facebook Comments Box