फ्रान्स र स्पेनमा भीषण डढेलो नियन्त्रणबाहिर, लाखौँ प्रभावित र हजारौँको उद्धार।
काठमाडौं । दक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू अझै संघर्षरत रहेका छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो तीव्र गतिमा फैलिँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ भने स्पेनमा आपतकाल घोषणा गरिएको छ ।
बीबीसीका अनुसार डढेलोका कारण दुवै देशमा हालसम्म दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । फ्रान्समा बोर्डोको पश्चिमका सात वटा नगरका बासिन्दालाई घर छाड्न निर्देशन दिइएको छ । शनिबार बिहानसम्म आगो बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर दूरीमा पुगेको थियो भने धुवाँले सहर ढाकिएपछि स्थानीयले पोलिएको गन्ध र श्वासप्रश्वासमा समस्या भएको बताएका छन् ।
फ्रान्सको गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारले डढेलो नियन्त्रणका लागि सेना परिचालन गरेको छ भने सैनिकहरूले आगो फैलिन नदिन फायर ब्रेक निर्माण तथा झाडी सफा गर्ने काम गरिरहेका छन्। देशभर करिब ३० वटा डढेलो सक्रिय रहेकाले राष्ट्रपति इमानुएल म्याक्रोनले आपत्कालीन बैठक बोलाउने तयारी गरेका छन् ।
यसैबीच, सुरक्षाकर्मीलाई डढेलो प्रभावित क्षेत्रमा परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले आइतबार हुने टुर डी फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटरमा सीमित गरिएको छ । स्पेनमा मौसममा केही सुधार आएपछि डढेलो नियन्त्रणमा केही राहत मिले पनि अवस्था अझै चुनौतीपूर्ण रहेको अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री पेद्रो सान्चेजले डढेलो नियन्त्रणका लागि अहिले महत्वपूर्ण अवसर प्राप्त भएको बताए पनि आगामी दिन कठिन रहने स्वीकार गरेका छन् ।
स्पेनको भ्यालेन्सिया क्षेत्रमा डढेलोमा परी करिब ७० वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालयका अनुसार म्याड्रिड र आविला क्षेत्रबाट करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छन् । अधिकारीहरूका अनुसार सन् २०२६ को सुरुदेखि स्पेनमा एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ भने फ्रान्समा पनि करिब ९८ हजार हेक्टर क्षेत्र डढेलोले नष्ट गरिसकेको छ ।
इटालीको सिसिली द्वीप र स्कटल्यान्डको केर्नगोर्म्स राष्ट्रिय निकुञ्जमा समेत डढेलो नियन्त्रणका प्रयास जारी छन् । युरोपेली संघले यस वर्ष डढेलोबाट हुने क्षति विगतका सबै रेकर्ड पार गर्न सक्ने चेतावनी दिएको छ । डढेलो नियन्त्रणका लागि फ्रान्स र स्पेनमा विभिन्न सदस्य राष्ट्रबाट पानी बर्साउने विमान, हेलिकोप्टर तथा विशेष उद्धार टोली परिचालन गरिएको छ ।

