भारत लैजान लागिएका दुई किशोरीको बाँकेबाट उद्धार

बाँके: कामको प्रलोभन देखाएर भारत लैजान लागिएका बर्दियाका दुई किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुर नाकाबाट उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका अनुसार विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको अटोरिक्सामा ती किशोरी फेला परेका थिए । किशोरीलाई लिन नाकामा आएका एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नरैनापुरका हनुमान यादव र भारत उत्तर प्रदेशको श्रावस्तीका हनुमानप्रसाद महन्त रहेका छन् । उद्धार गरिएका दुवै किशोरीलाई परिवारको जिम्मा लगाइएको शान्ति पुनःस्थापना गृह नेपालगन्जकी प्रमुख सम्झना चदराले जानकारी दिनुभयो । उहाँका अनुसार किशोरीका केही साथी अझै भारतमा रहेको पाइएको छ । उनीहरूको अवस्थाबारे प्रहरीलाई जानकारी गराइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Facebook Comments Box