दाङमा यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना
दाङको देउखुरी क्षेत्रमा यात्रुलाई बासी तथा अस्वस्थकर खाना खुवाउने एक होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई खाद्य मापदण्ड उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको अनुगमन टोलीले होटलको फ्रिजमा बासी तथा अस्वस्थकर खाना भण्डारण गरिएको, पकाइने परिकारमा कृत्रिम रङ प्रयोग गरिएको, भान्साको सरसफाइ र संरचना मापदण्डअनुसार नभएको, मूल्यसूची नराखिएको तथा नालीमा फोहोर पानी जमेर दुर्गन्ध फैलिएको अवस्था भेटिएको जनाएको छ।
कार्यालयका प्रमुख पदम बरालका अनुसार यसअघि पनि होटललाई पटकपटक सुधार गर्न निर्देशन दिइएको थियो। तर, कुनै सुधार नदेखिएपछि पुनः गरिएको अनुगमनका क्रममा २५ हजार रुपैयाँ जरिवाना गरिएको हो। अनुगमन टोलीले तोकिएको जरिवाना एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन तथा आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ। शुक्रबार सोही टोलीले देउखुरी क्षेत्रमा रहेका अन्य सात वटा होटलको समेत अनुगमन गरेको जनाएको छ।

