बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड रुपैयाँको घाटा

काठमाडौँ, ४ साउन – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्डफ्लु सङ्क्रमणका कारण २७ दिन बन्द हुँदा करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो। सङ्क्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी एवं रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।

सामान्य अवस्थामा चिडियाखानामा दैनिक एक हजार ७०० देखि एक हजार ८०० आगन्तुक आउने गरेका थिए। शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनासम्मले भ्रमण गर्ने गरेका थिए। तर पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते भने ८०० जना मात्र आगन्तुक पुगेका थिए।

हाल चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकबाट १०० रुपैयाँ, विद्यार्थीबाट १५० रुपैयाँ तथा अन्य आगन्तुकबाट २५० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ। गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा २१ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ।

हाल टिकट काउन्टर बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ भने सबै आगन्तुकले साँझ ५ बजेसम्म चिडियाखाना परिसर छाड्नुपर्ने व्यवस्था गरिएको छ। सङ्क्रमणअघि भने टिकट काउन्टर साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको थियो।

Facebook Comments Box