चार महिनामा ३,४३५ विपद्का घटना, १६६ जनाको मृत्यु

काठमाडौँ, ४ साउन – गत वैशाखदेखि हालसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार महिनाको अवधिमा कुल ३ हजार ४३५ वटा विपद्का घटना दर्ता भएका छन्। प्राधिकरणका अनुसार यस अवधिमा ९८८ जना घाइते भएका छन् भने ४ हजार ५३१ परिवार विभिन्न विपद्का कारण प्रभावित भएका छन्। तथ्यांकअनुसार सबैभन्दा धेरै ९१४ वटा आगलागीका घटना भएका छन्।

त्यसपछि सर्पदंशका ५३५, पहिरोका ४९५, हुरीबतासका ४७८, चट्याङका २२९, डढेलोका १९१, जनावर आक्रमणका १९०, बाढीका १७१, भारी वर्षाका १६६, लेक लाग्ने ५५, असिनाका चार, अन्य चार, हिउँ पहिरोका दुई तथा डुङ्गा पल्टिएको एक घटना अभिलेख गरिएको छ। यस्तै, साउन २ गते बिहानदेखि साउन ३ गते बिहानसम्म मात्रै देशभर ५८ वटा विपद्का घटना भएका छन्। ती घटनामा तीन जनाको मृत्यु, १३ जना घाइते भएका छन् भने ४५ जिल्ला प्रभावित भएको प्राधिकरणले जनाएको छ।

Facebook Comments Box