पृथ्वी राजमार्गका तीन स्थानमा पहिरो, काठमाडौं–मुग्लिन सडक अवरुद्ध
काठमाडौँ, ४ साउन – लगातारको वर्षापछि पृथ्वी राजमार्गका धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खस्दा काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलानजिक दुई स्थानमा तथा चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा पहिरो खसेको छ। दुवै जिल्लामा सडक खुलाउने प्रयासस्वरूप डोजरमार्फत पहिरो हटाउने काम भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन–पोखरा सडक सञ्चालनमा रहे पनि मुग्लिन–काठमाडौं सडकखण्ड भने पूर्ण रूपमा अवरुद्ध छ। सडक खुल्ने प्रतीक्षामा सवारी साधनलाई कुरिनटार क्षेत्रमा रोकिएको छ।यस्तै, जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार धादिङतर्फको पहिरो हटाउन अझै केही घण्टा लाग्ने अनुमान गरिएको छ। सडक खुल्न समय लाग्ने भएकाले नागढुंगा र सिम्ले क्षेत्रमा सवारी साधन होल्ड गरिएको प्रहरीले जनाएको छ।
वर्षाका कारण रातिको यात्रा जोखिमपूर्ण हुने भन्दै धादिङ प्रहरीले गएराति राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेको थियो। तर बिहान पहिरो खसेपछि सडक अझै सञ्चालनमा आउन सकेको छैन। उता, बीपी राजमार्ग भने सञ्चालनमा आएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ थली क्षेत्रमा सडकमाथि जमेको लेदो र माटो हटाइएपछि सवारी साधनको आवागमन पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

