देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ४ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि सक्रिय बनेको हो। हाल देशभर अधिकांश स्थानमा बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ।

कोशी र सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा, साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। आज राति पनि देशभर बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थान र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Facebook Comments Box