साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ, ४ साउन – साउन महिनाको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको छ। साउने झरीका बीच पनि भक्तजनहरू बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।
श्रद्धालुहरूको सहज, सुरक्षित र व्यवस्थित दर्शनका लागि विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ। दर्शन व्यवस्थापनमा कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संस्थाहरू परिचालित छन्।
कोषका अनुसार लाखौँ भक्तजनलाई मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गर्ने व्यवस्था गरिएको छ। बिहान ३ बजेदेखि खुलेका मन्दिरका ढोका साँझ आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ। दर्शनार्थीको व्यवस्थापनका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।
बिहानैदेखि भक्तजनको आगमन भए पनि लाम अत्यधिक लामो नभएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा प्राथमिक उपचारसहित आवश्यक सेवा तथा सुविधाको पनि व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेव लगायत काठमाडौँ उपत्यकाका प्रमुख शिव मन्दिरहरूमा पनि श्रद्धालुको भीड लागेको छ। साउनको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा भक्तजनहरूले दर्शन, पूजा र आराधना गरिरहेका छन्।

