१६ वर्षपछि स्पेन विश्वकप २०२६ को विश्वविजेता, अर्जेन्टिना १–० ले पराजित
काठमाडौँ, ४ साउन – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले १६ वर्षपछि विश्वकप ट्रफी उचाल्दै सन् २०१० पछिको पहिलो विश्व उपाधि आफ्नो नाममा लेखाएको हो। अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा आइतबार भएको फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
स्पेनका फेर्रान टोरेजले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई १–० को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा स्पेन विश्व च्याम्पियन बन्न सफल भयो।अर्जेन्टिनाले निर्धारित समयमै ठूलो धक्का बेहोरेको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। संख्यात्मक अग्रताको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा विजयी गोल गरेको हो।
विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने स्पेनले फ्रान्सलाई २–० ले हराउँदै उपाधि भिडन्त तय गरेको थियो। यससँगै स्पेनले १६ वर्षपछि पुनः विश्वकपको उपाधि जित्दै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्वलाई थप मजबुत बनाएको छ।

