डडेल्धुराको उग्रतारा मन्दिरमा आज भव्य मेला लाग्दै
डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज परम्परागत ‘दिउसेडी’ मेला लाग्दैछ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने यस मेलालाई स्थानीय भाषामा ‘देहिजाँत’ भनिन्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भन्ने गरिन्छ।
अमरगढी नगरपालिका–८ स्थित उग्रतारा मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत हजारौँ भक्तजन सहभागी हुने गरेका छन्। भक्तजनले मन्दिरमा दर्शन तथा पूजाआराधना गर्ने र स्थानीय उत्पादनको खरिदबिक्रीसमेत गर्ने गरेका छन्। यसैबीच, मेलाको अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

