सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताकाे अवरोधका बिच २०३ ट्रक फोहोर बिसर्जन गर्न सफल

काठमाडौँ, ३० साउन – काठमाडौं महानगरपालिकाले सोमबार ठाउँ ठाउँमा वरोधबीच २०३ ट्रक फोहोर धादिङको बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटमा बिसर्जन गर्न सफल भएको छ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहका अनुसार सोमबार पनि फोहोर लैजाने क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले सडकमा उत्रिएर अवरोध गरेको बताएका छन्। पार्टीका कार्यकर्ताले सडकमा उत्रिएर फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए।

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन। सत्तारुढ दलकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो। जसलाई स्थानीय नेताहरुले पनि साथ दिएको देखियो’, उनले भनेका छन्, ‘यद्यपि २०० भन्दा बढी प्रहरी परिचालनबाट फोहोरका गाडी बञ्चरेडाँडा लगियो।’

उनका अनुसार त्यस क्रममा प्रदर्शनमा उत्रिएका केही समूहले लुक्दै गुलेली हानेर अवरोध प्रयास गरिएको बताएका छन्। ‘यसैकारण आज २०३ वटा मात्रै फोहोरका गाडीहरु बञ्चरेडाँडा लैजान सकियो’, उनले भने, ‘केही दिन र समयबाट देखिएको समस्या सतही मात्रै हो।

यसका गहिरा र अलग्गै कारण छन्। नत्र सोच्नुस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ?’

उनले २ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हानेको बताएका छन्। यसलाई लिएर उनले प्रदर्शनकारीलाई राजनीतिक संरक्षण रहेको उल्लेख गरेका छन्।

‘यदि त्यसो होइन भने यसरी गुलेली हान्न सक्ने अवस्था किन बन्छ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ?’, उनले भनेका छन्, ‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ।

सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन। तर हामी विश्वस्त पार्न चाहन्छौँ, विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ। केही समय पक्कै लाग्छ।’

उनले सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेडाँडाको दीगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको बताएका छन्।

‘हामी आफूले गरेका सहमतिहरूको पालना गर्नेछौँ। सबै पक्षबाट हामी त्यही किसिमको संवेदनशीलता र इमानदारिताको अपेक्षा राख्दछौँ’, उनले भनेका छन्, ‘पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नुपर्ने होइन, फोहोरको हो।

आफ्ना कुत्सित स्वार्थको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो। त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन। सबैले जित्ने कार्यक्रम लागू गर्ने योजना छ।’

Facebook Comments Box