झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सुरक्षा कार्ययोजना पुनरावलोकन
झापा – झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासनले सुरक्षा कार्ययोजना पुनरावलोकन सुरु गरेको छ। कात्तिक ३ गते जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२, जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएपछि प्रशासनले कार्ययोजनाको प्रभावकारिता समीक्षा थालेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा भएको छलफलमा सुरक्षा निकाय, डिभिजन वन कार्यालय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिले हालसम्मका प्रयास र आगामी रणनीतिबारे समीक्षा गरेका छन्। प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव र वन्यजन्तु दुवैको संरक्षण गर्दै क्षति न्यूनीकरणका उपाय प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।
सरकारी निकाय र सुरक्षा संयन्त्रसँगको छलफलपछि स्थानीय तह, सामुदायिक वन, स्थानीय समुदाय र अन्य सरोकारवालासँग पनि परामर्श गरी कार्ययोजना परिमार्जन गरिने उहाँले जानकारी दिनुभयो। डिभिजन वन कार्यालयका अनुसार झापामा पछिल्लो २० वर्षमा हात्तीको आक्रमणबाट ७० नेपाली र १० विदेशी गरी ८० जनाको मृत्यु भएको छ। सोही अवधिमा २८ वटा हात्ती पनि मरेका छन्।
द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सामुदायिक वनका हेरालुलाई सक्रिय बनाउने तथा साइरनलगायतका उपकरण दुरुस्त राख्ने विषयलाई प्राथमिकता दिइएको छ। यस्तै, वन क्षेत्रमा हात्तीका लागि आहारा र पानीका स्रोत संरक्षण, जैविक मार्ग व्यवस्थापन तथा सौर्य विद्युतीय तारबारको मर्मतसम्भारमा पनि जोड दिइएको छ।

