रोशी गाउँपालिकाले ६०–७० वर्ष उमेर समूहका नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने

काभ्रेपलाञ्चोक, १९ असार – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ६० वर्षभन्दा माथि र ७० वर्षभन्दा मुनिका ज्येष्ठ नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँसभाबाट पारित वार्षिक नीति तथा कार्यक्रमसँगै उक्त कार्यक्रमका लागि बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

शिक्षातर्फ गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराउने नीति लिएको छ। यसका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। हाल संघीय सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई मात्र दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा प्रिमियममा संघीय सरकारले ५० प्रतिशत योगदान दिँदै आएकोमा बाँकी ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने व्यवस्था पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

पर्यटन प्रवर्द्धनका लागि तीनधारे झरना, ताराखसे लेक, भूमिचुली डाँडा तथा बाह्रवर्षे गोदावरी मेला लाग्ने चैत्य–पानी लेक क्षेत्रको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकास गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ। ती क्षेत्रको व्यवस्थापनका लागि कार्यविधि तयार गरी समिति गठन गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भगिनी सम्बन्ध विस्तार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

गाउँसभाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँको बजेट पारित गरेको छ। बजेटका लागि आन्तरिक स्रोतबाट पाँच करोड ८३ लाख ६५ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। राजस्व बाँडफाँटतर्फ स्थानीय राजस्व, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व साझेदारी, समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानलाई बजेटको मुख्य स्रोतका रूपमा राखिएको गाउँपालिकाले जनाएको छ।

यसैबीच, बाढीपहिरोबाट प्रभावित निजी आवासको पुनर्निर्माण तथा प्रबलीकरणका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। प्राकृतिक विपद्बाट भएको क्षति व्यवस्थापन र जोखिम न्यूनीकरणलाई आगामी वर्षको प्राथमिकतामध्ये एक बनाइएको गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

Facebook Comments Box