बर्डफ्लु संक्रमित पन्छी बिक्री गरे कानुनी कारबाही हुने विभागको चेतावनी

काठमाडौं, १९ असार – पशुसेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई चेतावनी दिएको छ। संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमउपभोक्ताको स्वास्थ्यमा जोखिम निम्त्याउने गतिविधि नगर्न आग्रह गर्दै संक्रमित पन्छी बिक्री–वितरण भएको पुष्टि भए सम्बन्धित व्यवसायीमाथि कानुनी प्रक्रिया अघि बढाइने बताउनुभयो।

विभागका अनुसार गत चैतयता देशका ११ जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै संक्रमण नियन्त्रण र थप फैलिन नदिन प्रभावित क्षेत्रमा निगरानी तथा नियन्त्रणका उपाय तीव्र पारिएको छ। हाल काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागले जनाएको छ। विभागका अनुसार केही जिल्लामा संक्रमण नियन्त्रणको चरणमा पुगेको छ।

बर्डफ्लु पुष्टि भएका क्षेत्रमा मरेका कुखुरा वा अन्य पन्छी जथाभावी फाल्न तथा संक्रमित पन्छी सुरक्षित विधिबिना नष्ट गर्न नहुने विभागको आग्रह छ। यस्ता कार्यले मानिसमा समेत संक्रमण सर्ने जोखिम बढाउन सक्ने विभागले जनाएको छ। विभागका अनुसार हालसम्म काठमाडौं उपत्यकासहित प्रभावित ११ जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा करिब तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ।

प्रवक्ता डा. उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण पुष्टि भएपछि पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै नियन्त्रणको प्रमुख उपाय हो। प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्याङ्कन तथा विवरण संकलनको काम भइरहेको विभागले जनाएको छ।

Facebook Comments Box