प्रतिनिधिसभा निर्वाचन ३ दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, १८ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचन आउन तीन दिन बाँकी रहँदा निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनको महत्व, मतदान प्रक्रिया तथा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।

आयोगका अनुसार फागुन ३ गतेदेखि सुरु भएको कार्यक्रम ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो। प्रत्येक वडामा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो। निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले स्वयम्सेवकहरूले घरदैलोमा पुगेर मतदातालाई प्रत्यक्ष रूपमा जानकारी गराएका कारण कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको बताउनुभयो। उहाँले विशेषगरी महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्नुभयो।

२०७९ सालको आम निर्वाचनदेखि मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी स्वास्थ्य स्वयम्सेविकालाई दिइँदै आएको छ। यसपटक पनि सोही अभ्यासलाई निरन्तरता दिइएको आयोगले जनाएको छ। आयोगका अनुसार नमूना मतपत्र प्रयोग गरी मतदाताको बस्ती र घरदैलोमै पुगेर निर्वाचन प्रक्रिया, मत हाल्ने तरिका र मतदानको महत्वबारे जानकारी गराइएको थियो।

कार्यक्रमको अनुगमनका लागि स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई जिम्मेवारी दिइएको थियो भने स्वयम्सेवकहरूले कार्यक्रम सम्पन्न गरी प्रतिवेदन आयोगमा बुझाउने व्यवस्था गरिएको छ।

Facebook Comments Box