एक शताब्दीदेखि सक्रिय वासिङ पहिरोले बोपुङका बस्ती निरन्तर जोखिममा
खोटाङ, १९ असार – खोटाङको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित वासिङ पहिरोले एक शताब्दीभन्दा बढी समयदेखि स्थानीय बस्ती, खेतीयोग्य जमिन र पूर्वाधारमा क्षति पुर्याउँदै आएको छ। वर्षायाम सुरु भएसँगै पहिरो सक्रिय हुने भएकाले आसपासका बासिन्दा हरेक वर्ष त्रासमा बस्न बाध्य छन्।
स्थानीयका अनुसार बुँवाखोलाबाट सुरु भएको वासिङ पहिरो १९९० सालको महाभूकम्पअघि नै सक्रिय भएको थियो। स्थानीय वृद्ध दीर्घमान राईका अनुसार पहिरोले अहिलेसम्म दर्जनौं घर र सयौं रोपनी खेतीयोग्य जमिन बगाइसकेको भए पनि यसको समग्र क्षतिको आधिकारिक अभिलेख उपलब्ध छैन।
पहिरोका कारण खोलाकिनारका धानखेत बगरमा परिणत भएका छन् भने खेतीयोग्य जमिन गुमाएपछि धेरै परिवार अन्यत्र बसाइँ सरेका छन्। स्थानीयका अनुसार हुवाला र युराङका बासिन्दाले वर्षौंदेखि प्रयोग गर्दै आएको गोरेटो बाटोसमेत पहिरोले बगाइसकेको छ।स्थानीयवासीका अनुसार पहिरो क्षेत्रमा रहेको प्राकृतिक पानीको मुहानका कारण वर्षायाममा निरन्तर माटो खसिरहन्छ। धेरै वर्षा हुँदा पहिरोले बुँवाखोला थुन्ने गरेको र त्यसले तल्लो तटीय क्षेत्रमा थप जोखिम सिर्जना गर्ने गरेको उनीहरूको भनाइ छ।
करिब एक किलोमिटर क्षेत्रमा फैलिएको यो पहिरोका कारण वासिङ, युराङलगायतका बस्तीका धेरै परिवारले पुख्र्यौली थातथलो छाडेर पूर्वी तराईका विभिन्न जिल्लामा बसाइँ सरेको स्थानीयले बताएका छन्। वासिङ पहिरोभन्दा करिब २०० मिटर माथि रहेको विजय आधारभूत विद्यालय पनि जोखिममा परेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राईले बताउनुभयो। उहाँका अनुसार विद्यालयभन्दा तल रहेका डुम्रेबोटे र युराङ बस्ती नजिकसम्म पहिरो आइपुगेकाले वर्षायाममा थप सतर्कता अपनाउनुपर्ने अवस्था छ।
स्थानीयका अनुसार पहिरोले साविक बोपुङ गाविसको वडा नम्बर ८ वासिङ र वडा नम्बर ९ युराङ क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्याएको छ। पहिरोको बीच भागमा बसोबास गर्ने करिब १५ घरपरिवार जोखिम बढेपछि वर्षौंअघि नै अन्यत्र सरेका थिए। बोपुङका वडाध्यक्ष मस्तबहादुर राईका अनुसार पहिरो बुँवाखोलाबाट करिब डेढ किलोमिटरसम्म माथि सर्दै आएकाले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीलगायतका बस्तीसमेत जोखिममा परेका छन्।
उहाँले स्थानीय तहको सीमित स्रोतले यति ठूलो पहिरो नियन्त्रण गर्न नसकिने भन्दै दीर्घकालीन समाधानका लागि संघीय तथा प्रदेश सरकारको पहल आवश्यक रहेको बताउनुभयो। देविस्थानका वडाध्यक्ष केदारमान राईका अनुसार वासिङ पहिरोले तल्लो क्षेत्रमा लगाइने धानबालीमा पनि हरेक वर्ष ठूलो क्षति पुर्याउँदै आएको छ। जन्तेढुङ्गा गाउँपालिकाले बोपुङसहित अन्य वडाका विभिन्न बस्ती पनि पहिरोको उच्च जोखिममा रहेको जनाएको छ।

