विश्वकप फुटबलः बोस्निया एन्ड हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा
काठमाडौं, १८ असार – सहआयोजक अमेरिका फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न अन्तिम–३२ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० गोलअन्तरले पराजित गर्दै घरेलु टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको पहिलो हाफको ४५औँ मिनेटमा बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। तर ६४औँ मिनेटमा बालोगुनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो। एक खेलाडी कम भएर खेले पनि अमेरिकाले आफ्नो लय कायम राख्यो।
खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएपछि अमेरिकाले २–० को सुरक्षित अग्रता बनायो। त्यसपछि थप गोल हुन नसक्दा अमेरिका सहज जितसहित अन्तिम १६ मा प्रवेश गर्न सफल भयो। यो जितसँगै अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको छ। यसअघि सन् २००२ को विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसयता भने टोली दोस्रो चरणबाटै बाहिरिँदै आएको थियो।
यस नतिजासँगै विश्वकप–२०२६ का तीनै सहआयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा अन्तिम १६ मा पुगेका छन्। मेक्सिको र क्यानडाले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका थिए। अब अमेरिका क्वार्टरफाइनल प्रवेशका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

