काठमाडौं महानगरमा विपद्का घटनामा कमी
काठमाडौं, १९ असार : काठमाडौं महानगरपालिकामा चालु आर्थिक वर्षमा विपद्जन्य घटनाको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। महानगरको विपद् व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३४७ वटा विपद्का घटना दर्ता भएका छन्, जबकि अघिल्लो आर्थिक वर्षमा यस्ता घटनाको संख्या ४२५ थियो।
विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार महानगर क्षेत्रमा सबैभन्दा बढी आगलागीका घटना हुने गरेका छन्। पछिल्लो समय विद्युत् तथा सञ्चारका अव्यवस्थित तार व्यवस्थापनलाई तीव्रता दिइएकाले आगलागीका घटनामा केही कमी आएको उहाँले बताउनुभयो।
उहाँका अनुसार ग्यास चुहावट, म्याद गुज्रिएका ग्यास सिलिन्डरको प्रयोग, पाइप तथा रेगुलेटरको नियमित परीक्षण नहुनु र विद्युत् पोलमा अव्यवस्थित रूपमा तार जडान गरिनु आगलागीका प्रमुख कारण हुन्। यस्ता जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको महानगरले जनाएको छ।
महानगरले हाल ३२ वटै वडामा चारवटा टोली परिचालन गरी केवल सेवा प्रदायक संस्था र महानगर प्रहरीसँगको सहकार्यमा तार व्यवस्थापन अभियान सञ्चालन गरिरहेको छ। विभागका अनुसार जहाँ तार व्यवस्थापन गरिएको छ, त्यहाँ विद्युत् तथा सञ्चारका तार एकआपसमा ठोक्किएर हुने आगलागीका घटना घटेका छन्।
मनसुनजन्य विपद्को पूर्वतयारीका लागि चारवटा उद्धार डुङ्गा तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। साथै, डुबानमा परेका व्यक्तिको उद्धारका लागि कृत्रिम अभ्यास, आवश्यक उद्धार सामग्री, मेसिनरी उपकरण तथा त्रिपाललगायत राहत सामग्री पनि तयारी अवस्थामा राखिएको प्रमुख नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि तालिम र पूर्वाभ्यास कार्यक्रमसमेत सम्पन्न गरिएको छ।
विभागले पछिल्लो समय काठमाडौंमा बढ्दो सहरीकरण, अनियन्त्रित ढलान, तथा समन्वयबिनै सडक खन्ने र पुर्ने कार्यका कारण नदी तथा डुबानजन्य विपद्को जोखिम बढिरहेको जनाएको छ। त्यसैले पूर्वतयारीसँगै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको विभागको भनाइ छ।

