सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम, १५ चैत – पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। फेदाप गाउँपालिका–१स्थित पोक्लाबाङमा निर्माणाधीन उक्त सङ्ग्रहालय लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षण गर्ने उद्देश्यले निर्माण भइरहेको हो। गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा निर्माण भइरहेको सङ्ग्रहालय परम्परागत छधुरे शैलीमा झिङ्गटीको छानो प्रयोग गरी निर्माण गरिएको छ।

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङको अगुवाइमा निर्माण भइरहेको सङ्ग्रहालयमा याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धित पुराना सांस्कृतिक सामग्री, ऐतिहासिक कागजात तथा गोर्खा–लिम्बूवान युद्धकालीन हातहतियारहरू सङ्कलन गरी राखिनेछ।

किरात याक्थुङ चुम्लुङका अनुसार पोक्लाबाङ क्षेत्रलाई १९ थरि याक्थुङ (लिम्बू) समुदायले ‘माङ्गेन्ना यक’ का रूपमा मान्दै आएका छन्। यस्तो स्थललाई पुर्खाले पहिलोपटक बसोबास गरेको पवित्र स्थानका रूपमा पूजा गर्ने परम्परा रहेको छ। सहरी विकास मन्त्रालयको रु २ करोड ७३ लाख बजेटमा मारुती विल्डर्सले २०८१ असारदेखि निर्माण सुरु गरेको यो परियोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

दुई स्थानीयले निःशुल्क प्रदान गरेको दुई रोपनी जग्गामा निर्माण भइरहेको उक्त सङ्ग्रहालय सम्पन्न भएपछि पोक्लाबाङ क्षेत्र सांस्कृतिक पर्यटनसँगै इतिहास अध्ययनको केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box