देशभर १,०४२ जनामा डेंगु संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं, १८ असार – पछिल्लो अद्यावधिक विवरणअनुसार देशभर एक हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत पुस १७ गतेदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। महाशाखाका अनुसार पछिल्लो छ महिनामा डेंगुका कारण दुई जनाको मृत्यु भएको छ। झापा, सुनसरी, काठमाडौं, चितवन, कास्की, ओखलढुंगा, मकवानपुर, पाल्पालगायत जिल्लामा संक्रमण देखिएको छ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी संक्रमित कोशी प्रदेशमा २९२ जना रहेका छन्। त्यसपछि बागमती प्रदेशमा २६४, लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेसमा ५२ र कर्णाली प्रदेशमा ३७ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लागत रूपमा झापा सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ १३८ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ६१, सुनसरीमा ५७, मकवानपुर र रुपन्देहीमा ५०–५०, कास्कीमा ४४, ओखलढुंगामा र चितवनमा ३९–३९ तथा पाल्पामा ३४ जनामा डेंगु संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ। महाशाखाका एक अधिकारीका अनुसार सामान्य लक्षण देखिएमा पर्याप्त झोलिलो पदार्थ सेवन गर्ने, आराम गर्ने तथा चिकित्सकको सल्लाहअनुसार पारासिटामोल सेवन गर्दा अधिकांश बिरामी निको हुन्छन्। तर अत्यधिक पेट दुख्ने, शरीरबाट रक्तश्राव हुने, बेहोस हुने वा अन्य जटिल लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने उहाँले बताउनुभयो।

स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर ५४ हजार ३५० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा ४८ हजार ८८३ र २०७९/८० मा ५६ हजार ३३८ जना संक्रमित भएका थिए। यसले पछिल्ला वर्षहरूमा डेंगु संक्रमणको जोखिम निरन्तर कायम रहेको देखाउँछ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले डेंगु नियन्त्रणका लागि पूर्वतयारीलाई तीव्र बनाइएको बताउनुभयो। उहाँका अनुसार ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी बनाउन विद्यार्थी, सुरक्षाकर्मी, निजी क्षेत्र तथा स्थानीय तहसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले पनि डेंगु नियन्त्रण तथा सचेतना अभियान सञ्चालन गरिरहेका छन्।

Facebook Comments Box