विश्वकप फुटबलः स्विडेनलाई ३–० ले हराउँदै फ्रान्स अन्तिम १६ मा
काठमाडौं, १८ असार – फिफा विश्वकप–२०२६ अन्तर्गत अन्तिम–३२ को खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको न्यू जर्सी रंगशालामा सम्पन्न खेलमा साविक उपविजेता फ्रान्सका कप्तान किलियन एम्बाप्पेले दुई गोल गर्दा ब्राडली बारकोलाले एक गोल थपे। खेलको पहिलो हाफको इन्जुरी समयमा (४५औँ मिनेट) एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५३औँ मिनेटमा बारकोलाले अर्को गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए। फ्रान्सले खेलमा आफ्नो पकड कायम राख्ने क्रममा ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। त्यसपछि थप गोल हुन नसकेपछि फ्रान्स ३–० को सहज जितसहित प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा पुगेको हो। यसैबीच, अन्तिम–३२ अन्तर्गत आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुनेछ।

