आजको मौसम : पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं, १७ असार – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन पूर्ण रूपमा फैलिएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर पूर्णतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका धेरै स्थानमा तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर पूर्णतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ भने पहाडी क्षेत्रका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। राति विशेषगरी कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box