बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते

बैतडी, ६ असार – बैतडीको दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। धनगढीबाट बैतडी सदरमुकामतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस साँझ करिब ५ः४० बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार पाटन नगरपालिका–८ निवासी २७ वर्षीय चालक केशवसिंह महराले चलाएको उक्त बस दुर्घटनामा परी दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १२ जना सवार रहेकोमा चालक भने सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। अधिकांश घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका–४ की २७ वर्षीया लक्ष्मी ऐरी, आठ वर्षीय हेमविक्रम जोशी, ६० वर्षीया पूर्णदेवी जोशी, २२ वर्षीया पूजा कार्की, दशरथचन्द नगरपालिका–२ देहीमाण्डौकी २० वर्षीया ललिता लावड, ३२ वर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–८ का विजयसिंह थापा, वडा नं. ६ की ३० वर्षीया लक्ष्मी साउद, वडा नं. ५ का ५२ वर्षीय कर्णदेव भट्ट तथा पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट रहेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Facebook Comments Box