केही स्थानमा हल्का वर्षा, तराईमा तातो लहरको सम्भावना
काठमाडौँ, ६ असार – हाल देशमा मनसुनी प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही भू–भागमा मनसुन सक्रिय रहेको छ भने अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेश तथा देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्। विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था कायम रहन सक्ने जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिनको प्रभाव रहने सम्भावना छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको अनुमान गरिएको छ। मौसमविद्का अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

