कतारमाथि क्यानडाको ६–० को शानदार जित, डेभिडद्वारा ह्याट्रिक
काठमाडौं, ५ असार – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा सहआयोजक क्यानडाले कतारलाई ६–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेस रङ्गशालामा सम्पन्न खेलमा क्यानडाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै कतारमाथि पूर्ण नियन्त्रण कायम राख्यो। क्यानडाको जितमा जोनाथन डेभिड नायक बने।
उनले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै साइल लारिन र नाथन सालिबाले एक–एक गोल थप्दा अर्को गोल कतारका मोहम्मद मनाईको आत्मघाती गोलका रूपमा आयो। खेलको १६औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि २९औँ मिनेटमा डेभिडले गोल गर्दै अग्रता दोब्बर बनाए। ३३औँ मिनेटमा कतारका हमाम अहमद रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली दबाबमा परेको थियो। पहिलो हाफको अतिरिक्त समयमा डेभिडले दोस्रो गोल गर्दै क्यानडालाई ३–० को सहज अग्रता दिलाए।
दोस्रो हाफमा पनि कतारको अवस्था झन् कमजोर बन्यो। ५१औँ मिनेटमा असिम माडिबो रातो कार्ड पाएर बाहिरिएपछि कतार नौ खेलाडीमा सीमित भयो। त्यसपछि क्यानडाले थप तीन गोल गर्दै एकपक्षीय जित सुनिश्चित गर्यो। ६४औँ मिनेटमा सालिबाले गोल गरे भने ७५औँ मिनेटमा मनाईको आत्मघाती गोलबाट क्यानडाले पाँच गोलको अग्रता बनायो। अतिरिक्त समयमा डेभिडले आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।
विश्वकप इतिहासमा क्यानडाको यो पहिलो जित हो। यसअघि सहभागिता जनाएको दुई संस्करणमा क्यानडाले जितको स्वाद चाख्न सकेको थिएन। जितसँगै क्यानडाले दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान कब्जा गरेको छ। समान तीन अंक रहेको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ भने बोस्निया–हर्जगोभिना र कतारको समान एक–एक अंक रहेको छ।

