उमेर पुगेर विवाह गर्ने छोरीलाई बर्दिबास नगरपालिकाले दिने भयो ५१ हजार रुपैयाँ प्रोत्साहन

महोत्तरी, ५ असार – महोत्तरीको बर्दिबास नगरपालिकाले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन प्रदान गर्ने घोषणा गरेको छ। नगरपालिकाको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उक्त व्यवस्था समावेश गरिएको हो। नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीका अनुसार आगामी आर्थिक वर्षदेखि नगर क्षेत्रका २० वर्ष उमेर पूरा गरेर विवाह गर्ने प्रत्येक छोरीले यो प्रोत्साहन रकम प्राप्त गर्नेछन्।

नगरप्रमुख क्षेत्रीले बालविवाहलाई निरुत्साहित गर्न र कानुनी उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश समाजमा प्रवाह गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक भएपछि यस निर्णयप्रति विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

यसअघि २०८० चैत ५ गते नगरपालिकाले मुसहर समुदायलाई लक्षित गरी उमेर पुगेर विवाह गर्ने जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने योजना ल्याएको थियो। नगरपालिकाको अभिलेखअनुसार हालसम्म बर्दिबास–१२ का एक जोडीले मात्र उक्त रकम प्राप्त गरेका छन्।नगरका सामाजिक तथा राजनीतिक कार्यकर्ता देवनारायण महतोका अनुसार मुसहर समुदायका लागि ल्याइएको प्रोत्साहन कार्यक्रमबाट अत्यन्त कम लाभग्राही देखिनुले सो समुदायमा बालविवाह अझै चुनौतीकै रूपमा रहेको संकेत गर्छ।

१४ वडा रहेको बर्दिबास नगरपालिकाका १३ वडा पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त वडा घोषणा भइसकेका छन्। हाल वडा नम्बर १२ मात्र बालविवाहमुक्त घोषणा हुन बाँकी रहेको छ। नगरपालिकाले ल्याएको नयाँ प्रोत्साहन कार्यक्रमले सामाजिक चेतना अभिवृद्धि गर्न र बालविवाह नियन्त्रणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले आम समुदायका छोरीहरूलाई मात्र ५१ हजार रुपैयाँ प्रोत्साहन दिने व्यवस्था गरे पनि मुसहर समुदायका हकमा भने यसअघिको व्यवस्था अनुसार पुरुष र महिला दुवैलाई प्रोत्साहन रकम उपलब्ध गराइने जनाएको छ। मुसहर समुदायमा बालविवाहको दर तुलनात्मक रूपमा बढी रहेको भन्दै उक्त विशेष व्यवस्था यथावत् राखिएको नगरप्रमुख क्षेत्रीले स्पष्ट पार्नुभयो। महिला अधिकारकर्मीहरूले नगरपालिकाको यो निर्णयलाई बालविवाह अन्त्य र सामाजिक सुधारको दिशामा सकारात्मक तथा उदाहरणीय कदमका रूपमा स्वागत गरेका छन्।

Facebook Comments Box