कैफियत फेला परेपछि अर्घाखाँची सिमेन्टलाई दुई लाखभन्दा बढी जरिवाना
काठमाडौँ, ८ मङ्सिर – उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक मापदण्ड नपुर्याएको ठहर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु २ लाख ५ हजार जरिवाना गरेको छ। विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैसाथ गरेको बजार अनुगमनका क्रममा उक्त कम्पनीले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ बमोजिम उल्लंघन गरेको पाइएको थियो।
सोही ऐनको दफा ३९(१) अनुसार कारबाही गरिएको विभागले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। विभागका अनुसार वस्तु तथा सेवाको गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा लगायतका कुरामा उपभोक्तालाई भ्रममा पार्ने वा अनुचित व्यापारिक क्रियाकलाप गरेको फेला परेको थियो। ऐनअनुसार यस्तो उल्लंघनमा निरीक्षण अधिकृतले रु २ लाखदेखि ३ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।
यसैगरी विभागले तिरूपति फुड प्रोसेसिङ इन्डस्ट्रिज, सिद्धार्थनगर, रूपन्देहीलाई पनि रु २ लाख ५ हजार जरिवाना गरेको छ। पञ्चकन्या स्टीललाई भने विभागले सामान्य निर्देशन दिएको छ। अनुगमन टोलीले आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रिज, एनबी वेभरेज, शुभकामना मिनरल वाटर एण्ड वेभरेज, चण्डेश्वरी मिनरल वाटर एण्ड वेभरेज, झरना प्योर ड्रिङ्किङ वाटर, कीर्तिपुर सहकारी खानेपानी उद्योगलगायत स्थानमा पनि स्थलगत अनुगमन गरेको जनाएको छ।

