पोखरा महानगरको नीति तथा कार्यक्रम : पर्यटन, हरियाली र पूर्वाधारमा विशेष जोड

कास्की, ५ असार – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। १९औँ नगरसभामा महानगर प्रमुख धनराज आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ‘समुन्नत पोखराको आधारः सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने मूल नारामा केन्द्रित छ।

नीति तथा कार्यक्रममा पर्यटन, वातावरण संरक्षण, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। पर्यटन प्रवर्द्धनका लागि ‘एक पर्यटक, एक मित्र अभियान’ सञ्चालन गरिने भएको छ। यस अभियानमार्फत स्थानीय नागरिकले पर्यटकलाई आवश्यक जानकारी उपलब्ध गराउँदै पोखरा भ्रमणमा सहयोग गर्नेछन्।

फेवाताल संरक्षण तथा सर्वोच्च अदालतको आदेशअनुसार ताल क्षेत्रको मापदण्ड कार्यान्वयन गरिनेछ। साथै फेवाताल, बेगनासताल र रूपाताललगायतका ताल तथा पोखरीहरूको सौन्दर्यकरण र पर्यावरणीय संरक्षणमा जोड दिइने भएको छ। पर्यटन क्षेत्रको विकासका लागि पोखरा–भरतपुर–लुम्बिनी ‘रजत त्रिभुज’ अवधारणाअन्तर्गत संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। महानगरले साहसिक पर्यटन, संस्कृति, हिमाल र ताललाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने नीति लिएको छ।

हरित सहर निर्माणका लागि प्रत्येक वडा, विद्यालय, सामुदायिक वन तथा सार्वजनिक क्षेत्रमा वृक्षरोपण अभियान सञ्चालन गरिनेछ। एक सय वर्षभन्दा पुराना ऐतिहासिक रुखहरूको अध्ययन तथा भौगोलिक अवस्थिति नक्साङ्कन गरी अभिलेख तयार पारिनेछ। हरियाली प्रवर्द्धनमा उत्कृष्ट योगदान गर्ने विद्यालय, सरकारी कार्यालय, टोल विकास संस्था र आमा समूहलाई वार्षिक ‘हरित पुरस्कार’ प्रदान गरिने कार्यक्रम पनि समावेश गरिएको छ।

सुशासन र सेवा प्रवाह सुधारका लागि महानगरले विद्युतीय सेवा विस्तार गर्ने, अनावश्यक संरचना खारेज गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जनाएको छ। सार्वजनिक जग्गा संरक्षण, अतिक्रमण हटाउने अभियान र अभिलेख व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको छ।

शिक्षा क्षेत्रमा कक्षा ८ को परीक्षा समूह विद्यालय केन्द्रमार्फत सञ्चालनलाई निरन्तरता दिइने तथा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गरिनेछ। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार, निजी स्वास्थ्य संस्था तथा औषधि पसलको प्रभावकारी अनुगमन तथा निजी र सरकारी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गरिने नीति लिइएको छ।

पूर्वाधार विकासअन्तर्गत वडा केन्द्र जोड्ने सडक स्तरोन्नति, रणनीतिक सडक तथा पुल निर्माण, सार्वजनिक–निजी साझेदारीमा पातले छाँगोमा काँचको पुल निर्माण, सेती खोंचमा झुन्डिएको पदमार्ग, फोहरमैला प्रशोधन केन्द्र, व्यवस्थित वधशाला तथा बसपार्क स्तरोन्नति गर्ने योजना समावेश गरिएको छ।

त्यसैगरी पुरानो बजार क्षेत्रलाई सम्पदा तथा सांस्कृतिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने, फिर्केखोलालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने तथा खोला किनारमा पैदलमार्ग, साइकल मार्ग, हरियाली क्षेत्र र सार्वजनिक खुला क्षेत्र निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

Facebook Comments Box