ओलीले आयोजना गरेको चियापान नेपाल पक्षले बहिष्कार गर्ने

नेकपा–एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबारका लागि आयोजना गरेको चियापान कार्यक्रम सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले बहिष्कार गर्ने भएको छ।
आज सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको वार्तामा फागुन २८ गते ओलीले आयोजना गरेको बैठकका निर्णयबारे कुरा नमिलेपछि नेपाल पक्षले मंगलबारको कार्यक्रममा सहभागी नहुने निर्णय गरेको हो।
ओलीले फागुन २८ गते नेपाल समूहलाई खबर नै नगरी आफूपक्षीय केन्द्रीय समितिको बैठक राखेर नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीविहिन हुनेगरी कार्यविभाजन गरेका थिए।
त्यसैगरी, उनले एमाले प्रवेश गरी आफूलाई साथ दिएका माओवादी नेताहरुलाई एमाले केन्द्रीय समितिमा मनोनयन गरेका थिए।
सो निर्णय उल्ट्याउनुपर्ने भनी नेपाल पक्षका नेताहरुले साेमबारकाे वार्तामा अडान लिएपछि दुई खेमाका नेताहरुबीच सहमति हुन सकेको थिएन।
त्यसैकारण आफूहरुले मंगलबारको चियापान बहिष्कार गर्न लागेको नेताहरुले बताएका छन्।
‘निम्तो पनि आएको छैन। आए पनि हामी कोही पनि जाँदैनौँ’, नेपाल तर्फका केन्द्रीय सदस्य निरज आचार्यले भने।

Facebook Comments Box