बेल्जियम र इजिप्टबीच तथा साउदी अरेबिया र उरुग्वेबीच १–१ गोलको बराबरी
काठमाडौं, असार २ – फिफा विश्वकप–२०२६ अन्तर्गत सोमबार राति अमेरिकाको सियाटलमा भएको खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ‘जी’ अन्तर्गतको उक्त खेलमा दुवै टोलीले एक–एक गोल गर्दै बराबरी गरेका हुन्।
इजिप्टले खेलको १९औँ मिनेटमा अग्रता लिएको थियो। टोलीका कप्तान मोहम्मद सलाहको पासमा इमाम अशोरले पेनाल्टी क्षेत्रबाट सशक्त प्रहार गर्दै गोल गरेका थिए। राष्ट्रिय टोलीका लागि यो अशोरको पहिलो गोल हो। अनुभवी स्ट्राइकर रोमेलु लुकाकुलाई ६६औँ मिनेटमा मैदानमा उतारेपछि बेल्जियमले आक्रामक खेल प्रदर्शन गरेको थियो।
इजिप्टका मोहम्मद हानीले लुकाकुलाई रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल बराबरीमै समाप्त भयो। यसका साथै आज बिहान सम्पन्न खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
अमेरिकाको मियामीस्थित रंगशालामा भएको खेलमा साउदी अरेबियाले पहिलो हाफमा अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। खेलको ४१औँ मिनेटमा साउदी अरेबियाका अब्दुलेलाह अल अमिरीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा खेलमा फर्किएको उरुग्वेले ८०औँ मिनेटमा बराबरी गोल गर्यो। उरुग्वेका लागि म्याक्सिमिलियानो अराउजोले गोल गर्दै खेल १–१ को स्थितिमा पुर्याए।
त्यसपछि दुवै टोलीले थप गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमै समाप्त भयो। यस नतिजासँगै साउदी अरेबिया र उरुग्वेले विश्वकपको आफ्नो पहिलो खेलबाट समान एक–एक अंक बटुलेका छन्।

