विश्वकप फुटबलको महाकुम्भ आजदेखि, विश्वभर फुटबलमय माहोल

काठमाडौँ, २८ जेठ  –  विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप आजदेखि सुरु हुँदै छ। प्रतियोगिता प्रारम्भसँगै विश्वभरका फुटबल समर्थकमाझ उत्साहको माहोल छ। विश्वकपमा सहभागी राष्ट्र मात्र होइन, प्रतियोगितामा स्थान बनाउन नसकेका देशका समर्थकहरू पनि आ–आफ्नो मनपर्ने टोलीको समर्थनमा जुटेका छन्। नेपाल पनि विश्वकपको रौनकबाट अछुतो छैन।

देशका विभिन्न सहरमा फुटबल समर्थकहरू मनपर्ने टोलीका जर्सी खरिद गर्न व्यस्त देखिन्छन् भने होटल, रेस्टुरेन्ट तथा विभिन्न व्यावसायिक प्रतिष्ठानले विश्वकप लक्षित विशेष कार्यक्रम र योजना सार्वजनिक गरिरहेका छन्। फुटबलप्रेमीहरूले आफ्नो प्रिय खेलाडीको शैली अपनाउँदै विश्वकपको माहोललाई थप उत्साहपूर्ण बनाइरहेका छन्।

हरेक चार वर्षमा आयोजना हुने विश्वकप यसपटक अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा हुँदै छ। तीन देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेको यो पहिलो अवसर हो। प्रतियोगिताका खेलहरू अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न सहरस्थित १८ वटा रंगशालामा सञ्चालन हुनेछन्। उद्घाटन खेल मेक्सिकोको चर्चित एस्टाडियो एज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना हुनेछ।

विश्वभरका करोडौँ दर्शकको ध्यान प्रतियोगिताभर यी तीन देशमा केन्द्रित रहने अपेक्षा गरिएको छ। यस संस्करणमा फिफाले सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पु¥याएको छ। केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा सहभागी हुँदै छन्। टोली संख्या बढेसँगै प्रतियोगितामा कुल १०४ खेल हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो।

अमेरिकामा सबैभन्दा बढी ७६ खेल सञ्चालन हुनेछन्। क्वाटरफाइनल, सेमिफाइनल र फाइनलजस्ता महत्वपूर्ण खेलहरू पनि अमेरिकामै आयोजना गरिनेछन्। मेक्सिको र क्यानडामा समान १३–१३ खेल हुने तालिका छ। उपाधि दाबेदारका रूपमा स्पेन र फ्रान्सलाई अग्रपंक्तिमा राखिएको छ। त्यसपछि साविक विजेता अर्जेन्टिना, इंग्ल्यान्ड, जर्मनी, पोर्चुगल, ब्राजिल तथा नेदरल्यान्ड्सलाई पनि बलिया प्रतिस्पर्धी मानिएको छ।

व्यक्तिगत प्रदर्शनका हिसाबले नेमार, किलियन एमबाप्पे, लामिन यामाल, ओस्मान डेम्बेले, इर्लिङ हालान्ड र मोहम्मद सलाहजस्ता स्टार खेलाडीमाथि विशेष नजर रहनेछ। यद्यपि फुटबल जगत्का दुई महान् खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको चर्चा यसपटक पनि केन्द्रमा रहने अपेक्षा गरिएको छ। सम्भवतः अन्तिम विश्वकप खेल्न लागेका यी दुई खेलाडीबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई थप रोमाञ्चक बनाउनेछ।

यद्यपि केही चर्चित खेलाडी चोट, छनोट असफलता वा अन्य कारणले विश्वकपबाट बाहिरिएका छन्। यसले कतिपय टोलीको शक्ति सन्तुलनमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। विश्वकपको तयारीसँगै आयोजक राष्ट्रहरूले सुरक्षा, आप्रवासन, यात्रा व्यवस्थापन तथा मौसमीय चुनौतीको सामना गरिरहेका छन्। यस संस्करणका टिकटहरू अहिलेसम्मकै महँगा मानिएका छन्। साथै अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र मौसमसम्बन्धी चुनौतीहरू पनि प्रतियोगिताका महत्वपूर्ण पक्षका रूपमा हेरिएका छन्।

यस वर्षको विश्वकपमा कुल ६५५ मिलियन अमेरिकी डलर पुरस्कार राशि राखिएको छ, जुन अघिल्लो संस्करणको तुलनामा उल्लेखनीय वृद्धि हो। प्रतियोगिताको विजेता टोलीले ५० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ। एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्वकपले फेरि एकपटक विश्वलाई फुटबलमय बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box