आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा पनि दिउँसोपछि पानी पर्ने
काठमाडौँ, १७ भदौ – देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । तराईका विभिन्न स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ ।
बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि हिमाली र पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना छ । उनका अनुसार दिउँसो २/३ बजेपछि बादल बढ्दै गएर उपत्यकाका धेरैजसो स्थानमा मध्यम वर्षा हुनसक्नेछ भने कतिपय ठाउँमा ठूलो वर्षा पनि हुनसक्ने अनुमान छ ।मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ केही नजिक रहेकाले त्यहाँ वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी हुने मौसमविद्ले बताएका छन् ।

