कोशीदेखि गण्डकीसम्म वर्षाको सम्भावना, पश्चिममा तातो लहरको जोखिम

काठमाडौं, ९ जेठ – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

मधेश प्रदेशमा आंशिक बदली तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । हाल गण्डकी प्रदेश का केही स्थान तथा सुदूरपश्चिम प्रदेश का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ ।

मधेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै लुम्बिनी प्रदेशकर्णाली प्रदेश का हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिएको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ ।

बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।

Facebook Comments Box