ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौं, ३० फागुन – काठमाडौँ महानगरपालिका ले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ।
महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्ले का अनुसार ग्यास हुँदाहुँदै छैन भन्दै ग्राहकलाई नदिने, ग्यास नपाइने भन्दै बढी मूल्य लिने तथा इन्धन डिपोमा मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने गुनासो आएपछि निगरानी संयन्त्र सक्रिय बनाइएको हो।
“ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर बढी मूल्य लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गरिनेछ,” काफ्लेले भन्नुभयो। उहाँका अनुसार नेपाल आयल निगम ले आधा सिलिन्डर ग्यासको मूल्य रु ९५५ तोकेको छ र यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी तथा उपभोक्तासँग अनुरोध गरिएको छ।
उहाँले ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण गर्न थालेकाले पनि बजारमा अभाव देखिएको उल्लेख गर्नुभयो। “यसरी ग्यास सञ्चिति गरिएमा माग र आपूर्तिको चक्रमा असर पर्छ, त्यसैले उपभोक्ताले पनि जिम्मेवारीपूर्वक ग्यास माग गर्नुपर्छ,” काफ्लेले भन्नुभयो।
महानगरका अनुसार केही पेट्रोल पम्पले मौज्दात इन्धन हुँदाहुँदै छैन भन्दै सवारीसाधनलाई उपलब्ध नगराउने सूचना पनि प्राप्त भएको छ। यस विषयमा महानगरले निगरानी सुरु गरेको जनाएको छ।
ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि देखिएमा तथ्यसहित महानगरपालिकाको ‘हटलाइन नम्बर’ ११८० मा जानकारी दिन सकिने व्यवस्था गरिएको छ। प्राप्त सूचनाका आधारमा महानगरले अनुगमन र कारबाही गर्ने जनाएको छ।
यसैबीच ग्यास बिक्रेता महासङ्घ, नेपाल का अध्यक्ष ज्ञानेश्वर अर्याल ले भारतबाट आउने ग्यास आपूर्ति हालसम्म नियमित रहेको जानकारी दिँदै उपभोक्तालाई अनावश्यक सञ्चिति नगर्न आग्रह गर्नुभएको छ।

