लामो दूरीका बसमा जेठ १५ देखि लगेज ट्याग प्रणाली लागू हुने

काठमाडौं, ९ जेठ – काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको लगेज सुरक्षित बनाउन ‘लगेज ट्याग प्रणाली’ लागू गरिने भएको छ । यात्रुको झोला हराउने, साटिने तथा चोरी हुने समस्या नियन्त्रण गर्दै सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यले उक्त प्रणाली लागू गर्न लागिएको हो ।

यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयराष्ट्रिय यातायात व्यवसायी महासङ्घ बीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा महासङ्घका अध्यक्ष सरोज सिटौला ले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको सामानमा विशेष ट्याग लगाइनेछ । यात्रुले प्राप्त गर्ने ट्याग नम्बर र बसमा राखिएको लगेजको नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने जनाइएको छ । ट्राफिक प्रहरीका अनुसार यसले यात्रुको सामान सुरक्षित राख्न तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सार्वजनिक सवारीसाधनमा लगेज चोरी, हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि यस्तो प्रणाली आवश्यक रहेको बताए । उनका अनुसार प्रारम्भिक चरणमा यो व्यवस्था लामो दूरीका सवारीसाधनमा लागू गरिनेछ । महासङ्घका अध्यक्ष सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको बताए ।

उनले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या अन्त्य गर्न यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे । यातायात व्यवसायीका अनुसार विशेषगरी चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो बढ्दै आएको थियो । सुरक्षा निकायले सार्वजनिक सवारीसाधन अवैध वस्तु ओसारपसारमा प्रयोग हुने जोखिमबारे पनि चिन्ता व्यक्त गर्दै आएका थिए ।

नयाँ प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बर सहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ र गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने तयारी गरिएको छ । ट्राफिक प्रहरीले आगामी दिनमा क्युआर कोड तथा डिजिटल रेकर्ड प्रणालीसमेत जोड्ने योजना रहेको जनाएको छ ।

यसैबीच ट्राफिक प्रहरी कार्यालयले ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३’ पनि सुरु गरेको छ । कार्यालयका अनुसार वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो ।मनसुन अवधिमा सवारीसाधनको प्राविधिक परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box