सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
काठमाडौँ, ५ जेठ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल अर्थात् पूर्वबजेट छलफल आज पनि जारी रहनेछ ।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची तय गरिएको छ । बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ ।
राष्ट्रिय सभाको बैठकमा पनि समान कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । पूर्वबजेट छलफल सम्पन्न भएपछि सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

