वैद्य नेतृत्वको माओवादीले स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने
काठमाडौँ, ३० फागुन – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।
बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको हो ।
बैठकले एमसीसीको विरोध गर्दै यसविरुद्ध सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र संझौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ । बैठकले पार्टी एकताबाट आएका केही नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने निर्णय पनि लिएको छ ।