नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

नवलपरासी, ६ चैत – नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत नवलपुरमा रहेको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूह ले जैविक मल उत्पादन सुरु गरेको छ। कावासोती नगरपालिका–१४ मा अवस्थित गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा चिनिने यस वनले झाडी, पातपतिङ्गरजस्ता उपयोगविहीन जैविक पदार्थ व्यवस्थापन गर्दै मल उत्पादन थालेको हो।

समूहका अध्यक्ष भगवान खनालका अनुसार वनमा खेर गइरहेका स्रोतको सदुपयोग गर्दै डढेलो नियन्त्रण र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। “झाडीको सदुपयोग, डढेलोको जोखिम न्यूनीकरण र रासायनिक मलको विकल्पका रूपमा जैविक मल उत्पादन गर्ने लक्ष्य राखेका छौँ,” उहाँले भन्नुभयो।

उत्पादन प्रक्रियामा झाडीलाई मसिनो गरी काटी गाईभैँसीको गोबर, खरानी, रातो माटोलगायत तत्व मिसाएर प्राविधिक निगरानीमा मल तयार पारिन्छ। संयोजक धनेश्वर कुँवरका अनुसार मलको गुणस्तर सुनिश्चित गर्न नियमित परीक्षण र अनुगमन गरिनेछ। यस कार्यक्रमले वन व्यवस्थापन सुधारसँगै स्थानीयलाई रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। झाडी सङ्कलनदेखि मल तयारीसम्मका काममा स्थानीय उपभोक्तालाई संलग्न गराइएको छ।

हाल प्रारम्भिक चरणमा उत्पादन भइरहेको मल करिब १०० दिनमा तयार हुने र त्यसपछि लागत विश्लेषण गरी उचित मूल्य निर्धारण गरेर बिक्री सुरु गरिने योजना छ। आगामी दिनमा उत्पादन विस्तार गरी अन्य क्षेत्रमा समेत आपूर्ति गर्ने तयारी गरिएको छ। यस पहलले वन संरक्षण, वातावरणीय सन्तुलन, रोजगारी वृद्धि र दिगो कृषिमा बहुआयामिक लाभ पुग्ने विश्वास गरिएको छ।

Facebook Comments Box