पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने, तराई क्षेत्रमा हावाहुरीको सम्भावना
काठमाडौँ, २ जेठ – देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदली देखिएको छ ।
गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा अन्य हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा बाँकी पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

