थानकोटमा चक्कु प्रहार गरी एक जनाको हत्या
काठमाडौं, ३ जेठ – काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा एक जनाको हत्या भएको छ । प्रहरीका अनुसार महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार राति करिब साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।
घटनामा संलग्न समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । प्रहरीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

