आज देशैभरि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना
काठमाडौँ, १७ भदौ – अहिले देशका पाँचवटा प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेशका १ का एक दुई स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो। ‘सबैभन्दा बढी गण्डकी प्रदेशमा वर्षा भइरहेको छ‘, मौसमविद् मानन्धरले भनिन्।
आज दिउँसो देशैभरि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै लुम्बिनी र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

