आजको मौसम: कोशी, बागमती र गण्डकीमा वर्षा

काठमाडौँ, १६ चैत – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। यसका कारण पहाडी तथा हिमाली भूभागमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित कोशीका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षा, चट्याङ तथा हिमपातबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box