मुग्लिन–पोखरा सडकका मौरीओडार खण्डमा कालोपत्र थालियो

तनहुँ, २६ मङ्सिर – मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा लामो समयपछि कालोपत्र (ब्ल्याकटप) कार्य पुनः सुरु गरिएको छ। पहिरो जोखिमका कारण थन्किएको काम यतिबेला तीव्र गतिमा अघि बढिरहेको सडक योजनाले जनाएको छ। सडक योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार मौरीओडार क्षेत्रमा पहिरोले सडकछेउको पर्खाल भत्काएपछि कालोपत्र रोकिएको थियो।

आवश्यक संरचना मर्मतपछि अब दुईतर्फी कालोपत्र प्रक्रिया अघि बढाइएको हो। वर्तमान चरणमा दुई लेनमा कालोपत्र भइरहेको र पहिलो चरण सकिएपछि अर्को दुई लेनमा काम सुरु हुने जानकारी दिइएको छ। पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक तथा ४७.८० प्रतिशत वित्तीय प्रगति भएको छ। ३८.८८ किमी दूरीमध्ये हाल ३७.४ किमीमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ।

त्यसमध्ये २९.६१ किमीमा चार लेन र ७.७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ। उक्त खण्डमा निर्माण भएका १२ पुलमध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमाथिको पुल निर्माणाधीन अवस्थामा छ। गत आर्थिक वर्षको लक्ष्यअनुसार २५ किमी चार लेन सडक स्तरोन्नति लक्ष्य राखिएकोमा २३.०६ किमी कालोपत्र पूरा भएको योजनाले जनाएको छ। ११ वटा पुल निर्माण गर्ने लक्ष्य पनि पूरा भइसकेको छ।

छैसठ्ठी कल्भर्टमध्ये ६५ वटा र ५१.५ किमी नाला निर्माण लक्ष्यमध्ये ४५.२ किमी निर्माण सकिएको सडक योजनाले जनाएको छ। २०७८ जेठ ३ गते सम्झौता भएको पश्चिम खण्डको काम २०८२ पुस १६ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको छ। यो खण्डको ठेक्का एनहुई केयुआन हाइवे एन्ड ब्रिज कम्पनीले रु ७ अर्ब ४० करोडमा पाएको हो।

Facebook Comments Box