७१औँ स्थापना दिवस मनाउँदै नेपाल पत्रकार महासंघ
काठमाडौँ, १६ चैत – नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ ले आज ७१औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । स्थापना दिवसका अवसरमा काठमाडौँ उपत्यकासहित देशभर विविध कार्यक्रम आयोजना गरिएको छ ।
स्थापना दिवसको अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्मा ले सन्देश जारी गर्दै जिम्मेवार पत्रकारिताको दायित्व स्मरण गराएकी छन् । उनले नागरिकको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न तथा समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारलाई अपिल गरेकी छन् ।
सात दशकभन्दा लामो इतिहास बोकेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा निरन्तर काम गर्दै आएको सन्देशमा उल्लेख छ । ‘व्यावसायिक र जवाफदेही पत्रकारितामार्फत सुदृढ लोकतन्त्र र विधिको शासन स्थापना गर्ने विषयलाई प्राथमिकतामा राख्दै काम गर्दै आएका छौँ,’ सन्देशमा भनिएको छ ।
अध्यक्ष शर्माले लोकतन्त्र र पत्रकारिता अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै आवश्यक परे सार्वजनिक सरोकारका विषयमा अभिमत व्यक्त गर्नु पत्रकारको दायित्व भएको बताएकी छन् । साथै, संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको नियन्त्रण वा संकुचनको प्रयास भए त्यसको प्रतिवाद गर्नु महासंघको कर्तव्य हुने उनले स्पष्ट पारेकी छन् ।
उनले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढ्दो क्रममा रहेको उल्लेख गर्दै पत्रकारहरूको भौतिक सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा महासंघ सधैँ प्रतिबद्ध रहने बताएकी छन् । प्रतिनिधि सभाको निर्वाचनपछि बनेको सरकारबाट राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिएको उल्लेख गर्दै उनले सञ्चारसम्बन्धी कानुनहरू सरोकारवालासँग छलफल गरेर ल्याउन सरकारसँग आग्रह गरेकी छन् ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचनालाई चुनौतीका रूपमा लिँदै जिम्मेवार पत्रकारिताबाट त्यसको सामना गर्नुपर्नेमा जोड दिइएको छ । महासंघले सञ्चारगृह र पत्रकारहरूको हित संरक्षण, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा समेत जोड दिएको जनाएको छ

