नयाँ प्रधानमन्त्रीको शपथ आज
काठमाडौँ, १३ चैत – मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथअघि नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६(१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।
शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको सहभागिता रहने जनाइएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी छ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो।
सोही दलले बिहीबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो। नेता शाह झापा जिल्ला क्षेत्र नं ५बाट ६८ हजार ३४८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसक्नुभएको छ।

