अवैध क्रसर उद्योगबाट नुवाकोटमा जनजीवन प्रभावित, विद्यालय–अस्पतालसमेत समस्यामा

त्रिशूली, १३ चैत – नुवाकोटका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध क्रसर उद्योगका कारण स्थानीयवासी पीडित बनेका छन् भने विद्यालय र अस्पतालसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। शिवपुरी पञ्चकन्या गाउँपालिकालिखु गाउँपालिका हुँदै बग्ने लिखु खोला क्षेत्रमा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहँदा वातावरणीय तथा स्वास्थ्य समस्या चर्किएको स्थानीयवासीको गुनासो छ।

मध्यपहाडी लोकमार्ग निर्माणका नाममा स्थापना गरिएका क्रसर उद्योग आयोजनाको काम सम्पन्न भइसकेपछि पनि राजनीतिक संरक्षणमा विगत १० वर्षदेखि सञ्चालनमा रहेको आरोप लगाइएको छ। स्थानीयका अनुसार हिउँदयाममा धुलो र धुवाँका कारण बस्नै कठिन हुने तथा वर्षायाममा बाढीपहिरोको जोखिम बढ्ने गरेको छ। अवैध उत्खननका कारण नदीको सतह घट्दै जाँदा बस्ती र खेतीयोग्य जमिन कटानको जोखिममा परेको छ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले क्रसर उद्योग नियमन गर्ने प्रयास भइरहेको भए पनि कानुनी जटिलताका कारण समस्या समाधानमा कठिनाइ भएको बताउनुभयो। उहाँका अनुसार उजुरी प्राप्त भए आवश्यक कारबाही गरिनेछ।

स्थानीयवासीले भने नियमनकारी निकायको कमजोरीका कारण प्राकृतिक स्रोतको दोहन र राजस्व छली भइरहेको आरोप लगाएका छन्। खोलाबाट निकालिएको सामग्री कहाँ प्रयोग भइरहेको छ भन्नेबारे सम्बन्धित निकाय अनभिज्ञ रहेको अवस्था छ।

शिवपुरी गाउँपालिका–५ शेराबगरका स्थानीयका अनुसार अवैध उत्खननले खोलाको बहाव परिवर्तन भई घर तथा खेत जोखिममा परेका छन्। सिँचाइका लागि बनाइएका बाँधमा पानी नआउने समस्या पनि देखिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लाभरका क्रसर उद्योगको वैधता जाँच गरी अवैध ठहरिएकालाई बन्द गराउने तयारी भइरहेको जानकारी दिनुभयो।

क्रसर उद्योगबाट निस्किने धुलो, धुवाँ, ध्वनि प्रदूषण र हेभी उपकरणको आवतजावतका कारण उद्योग आसपास रहेका विद्यालय र अस्पतालमा पठनपाठन तथा स्वास्थ्य सेवा प्रभावित भएको छ। स्थानीयवासीले पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भन्दै छिट्टै समाधान नभए आन्दोलनमा उत्रिएर अवैध उद्योग बन्द गराउने चेतावनी दिएका छन्।

Facebook Comments Box