पपुवा न्युगिनीलाई ८४ रनले हराउँदै बंगलादेश टी–२० विश्वकपको सुपर १२ चरणम प्रवेश
काठमाडौँ, ५ कात्तिक – पपुवा न्युगिनीलाई ८४ रनले हराउँदै बंगलादेश टी–२० विश्वकपको सुपर १२ चरणम प्रवेश गरेको छ। बिहीबार भएको खेलमा साकिब अल हसनले ४६ रन बनाउँदै ९ रनमा ४ विकेट पनि लिएपछि बंगलादेशको जित भएको हो।
पपुवा न्युगिनीले १ सय ८२ रनको लक्ष्य पाएकामा पूरा टिम १९.३ ओभर मात्र टिकेर ९७ रनमा अलआउट भएको थियो। लगातार तीन खेल गुमाएर पपुवा न्युगिनी प्रतियोगिताबाटै बाहिरिएको छ।
उता आफ्नो पहिलो खेल गुमाएको बंगलादेशले भने त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार दुई खेल सहजै जितेको हो। आफ्नो प्रारम्भिक ब्याट्सम्यान असद भालालाई ६ रनमा गुमाएपछि पपुवा न्युगिनी लक्ष्य पछ्याउने बाटोमा आउनै सकेन। साकिब बलिङमा आक्रमक रूपमा उत्रेपछि विश्वकपमा डेब्यु गरिरहेको टोली झन् दयनीय अवस्थामा पुगेको थियो।
बायाँहाते स्पिनर साकिबले आफ्नो पहिलो ओभरमै २ विकेट लिए भने लगतै फेरि दुई विकेट लिए। योसँगै उनले टी–ट्वान्टी विश्वकपमा साहिद अफ्रिदीको सर्वाधिक ३९ विकेटको कीर्तिमान बराबरी गरेका छन्।
यसअघि कप्तान महमुदुल्लह रियादले ५० रनको योगदान दिएका थिए। यसपछि बंगलादेशले ७ विकेट गुमाएर पहिले ब्याटिङ राेजेर १ सय ८१ रन बनाएको थियो। बंगलादेशका आसिफ हुसेनले १९ बलमा आक्रामक २१ रन बनाएका थिए।

